Categories
समाचार

भोलिबाट लकडाउन खुकुलो बनाउने तयारि गरिरहेका बेला पूर्वसन्ध्यामा स्वास्थ्य मन्त्रालयले निकाल्यो यस्तो बिज्ञप्ति (बिज्ञप्ति सहित)

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको निषेधाज्ञालाई थप खुकुलो बनाउँदै निजी सवारी साधन सञ्चालनको अनुमति दिएको छ । उपत्यकास्थित तीन जिल्लाका सीडीओहरुको बैठकले निजी सवारी जोर–बिजोर प्रणालीमा चल्न दिने निर्णय गरेको हो ।

निजी गाडीमा यात्रा गर्दा बढीमा ४ जनालाई अनुमति दिइने ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । यस्तै, मोटरसाइकलमा दुई जनाले यात्रा गर्न सक्नेछन् । ट्याक्सीहरुलाई पनि जोर बिजोर अनुसार चल्न दिइने भएको छ ।

आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने भएको छ । सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ।

खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ भने रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउने भएका छन् । हार्डवेयर पसलहरु दैनिक ११ बजेदेखि बेलुका ६ बजेसम्म खुल्न पाउने भएका छन् । शनिबार अत्यावश्यक बाहेकका पसलहरु खुल्न नपाउने भएका छन् । सरकारी र सार्वजनिक संस्थानका कार्यालयमा सीमित कर्मचारी राखेर मात्र संचालन गर्न अनुमति दिइएको छ ।

यसै क्रममा नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्यन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप नौ वटा नमूनामा फेला परेको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नमूना परीक्षणमा अणुवांशिक पहिचान गर्दा ४७ डेल्टा भेरियन्ट पुष्टि भएकामध्ये नौ वटामा थप उत्परिवर्तन रुप k417N mutation देखिएको बताउनुभयो । यसलाई AY.1 नाम दिइएको छ ।

उहाँका अनुसार यो नेपालसहित विभिन्न १० देशमा देखिएको छ । मन्त्रालयले गत वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानका विभिन्न उमेर समूहका व्यक्तिबाट पिसीआर नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले छनोट गरी परीक्षणका लागि भारत पठाएको थियो ।

नेपालमा अहिलेसम्म अल्फा (B.1.1.7) र डेल्टा (B.1.617.2) तथा कप्पा (B.1.617.1) भेरियन्ट पुष्टि भएको छ । डेल्टाको उत्परिवर्तन भेरियन्ट बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर गर्ने मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिनुभयो । उहाँले यसअघि पनि नेपालमा देखिएको यो डेल्टा भेरियन्टको नयाँ रुप मात्र रहेको बताउनुभयो । “यो नयाँ देखिएको भेटियन्ट होइन”, उहाँले भन्नुभयो, “यसअघि पनि देखिएको छ, तर यो अन्यभन्दा बढी सङ्क्रामक रहेको छ ।”

मन्त्रालयले डेल्टा भेरियन्टको नयाँ रुपको सङ्क्रमण रोक्नका लागि सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्ड पालना गर्नका लागि अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *