Categories
समाचार

काठमाडौँबासीहरुका लागि आयो यस्तो खुसीको खबर, सबैले अनिवार्य थाहा पाउनुपर्ने

काठमाडौँ । काठमाडौँमा कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएकाहरुले साउन २२ गते देखि दोस्रो मात्रा पाउने भएका छन् । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्का अनुसार पहिलो मात्रा लगाएको २१ दिन पुरा भएकालाई काठमाडौंका सबै पालिकामा दोस्रो मात्रा खोप अभियान संचालन हुने छ ।

जसअनुसार १ लाख ६५ हजार व्यक्तिले भेरोसेलको दोस्रो मात्रा पाउने छन् । अब दोस्रो मात्रा खोप लगाउने नागरिकले अनिवार्य रुपमा विद्युतीय दर्ता नम्बर र पहिलो मात्रा लगाएको खोप कार्ड लिएर खोप केन्द्र पुग्नुपर्ने प्रमुख खड्काले जानकारी दिए ।

यसअघि साउन १४ देखि १८ गते सम्म गतेसम्म काठमाडौंमा १ लाख ८० हजार ५३४ जना व्यक्तिले भेरोसेलको पहिलो मात्रा लगाइसकेका जनस्वास्थ्य कार्यालय जनाएको छ । जुन कार्यक्रमअनुसार आजपनि काठमाडौं महानगरपालिका र बूढानीलकण्ठका केही स्थानमा भने खोप कार्यक्रम संचालन हुनेछ ।

यस्तै अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुको लागि प्रसूति गृह थापाथली, काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती अस्पताल बानेश्वर, शिक्षण अस्पताल महाराजगन्ज र राधास्वामी आइसोलेसन सेन्टर सामाखुसीमा खोप कार्यक्रम संचालनजारी रहेको छ भने विदेशमा जानेहरुका लागि नेपाल प्रहरी र वीरेन्द्र सैनिक अस्पतालमा खोप केन्द्र तोकिएको छ ।

यसैबीच उता कोरोना भाइरसको उद्गमस्थल मानिएको हुबेई प्रान्तको राजधानी वुहानमा फेरि कोरोन भेटिएपछि सबैको परीक्षण गरिने चीन सरकारले घोषणा गरेको छ ।

करिब १ करोड १० लाख जनसंख्या रहेको उक्त शहरमा पछिल्लो समय केही व्यक्तिलाई कोरोना संक्रमण देखिएपछि सबैको परीक्षण गर्न लागिएको हो । वुहानमा पछिल्लो समय ७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो समय वुहानमा अहिलेसम्मकै बढी संक्रामक मानिएको डेल्टा भेरियन्ट देखिएको हो ।

करिब एक वर्षपछि वुहानमा स्थानीय स्तरमा संक्रमण पुष्टि भएको हो । वुहानले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि विश्वमै पहिलो पटक लकडाउनको अभ्यास गरेको थियो ।

चीनमा पछिल्लो १० दिनमा ३ सय जनामा संक्रमण देखिएको छ । जुन केही महिनायताकै बढी हो । चीनमा पछिल्लो समय १५ वटा प्रान्तमा संक्रमण देखिएको छ । फेरि संक्रमण फैलिने डरले ठूलो परिमाणमा परीक्षण र कडा लकडाउन लागू गरिने भएको छ ।

मंगलबार मात्रै चीनमा ९० जनामा संक्रमण पुष्टि भएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।चीनका थप स्थानमा कोरोनाभाइरसको नयाँ प्रकोप फैलिएको देखिएपछि उक्त भाइरसको अतिसङ्क्रामक मानिने “डेल्टा भेरिअन्ट” को जोखिमलाई लिएर स्थानीय सञ्चारमाध्यममा चिन्ता बढ्दो छ।

पछिल्लो तथ्याङ्कअनुसार गत दश दिनको अवधिमा ३०० भन्दा बढी सङ्क्रमित थपिएका छन्। नयाँ प्रकोपसम्बन्धी समाचारले सञ्चारमाध्यमहरूमा प्राथमिकता पाएका छन् र श्वासप्रश्वास रोगसम्बन्धी चीनका वरिष्ठ विज्ञले गम्भीर चिन्ता व्यक्त गरेको जनाइएको छ।

सरकारले यात्रासम्बन्धी नयाँ प्रतिबन्धहरू लागु गरेको छ र लाखौँको सङ्ख्यामा परीक्षण गरिरहेको छ। यस्तै भारतमा थप ३० हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३० हजार ३१ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १७ लाख २५ हजार ३९९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख ११ हजार ४६९ जना संक्रीय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ४२० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २५ हजार २२८ पुगेको छ।

के हो डेल्टा प्लस भेरियन्ट ?

डेल्टा प्लस भेरियन्ट भारतमा भेटिएको डेल्टा भेरियन्टबाटै म्युटेट भएको भेरियन्ट हो । यसलाई एवाई १ नामले पनि चिनिन्छ। पहिलोपटक गत अप्रिल ११ मा यो भेरियन्ट भारतमा देखिएको भारतको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

भाइरसले प्राकृतिक रूपमा नै आफ्नो बनावट र प्रकृतिलाई बदल्ने गर्छन् । भाइरसको परिवर्तित स्वरूपलाई उत्परिवर्तन वा भेरियन्ट भनिन्छ । उत्परिवर्तनले भाइरसलाई नयाँ वातावरणमा बाँच्न, संघर्ष गर्न र धेरै ठाउँमा फैलिन मद्दत गर्छ ।

सकेसम्म धेरै ठाउँमा फैलिन सक्नु नै भाइरसका लागि सफलता हो । चीनमा ‘सार्स–कोभ टु’ को पहिलो पटक पहिचान गरिएपछि यसका हजारौँ उत्परिवर्तन देखापरेका छन् । जसमध्ये मुख्य रूपमा चारवटा भेरियन्टमा वैज्ञानिक र अनुसन्धानकर्ताको ध्यानाकर्षण भएको छ ।

ती चार भेरियन्टमध्ये बेलायतमा देखापरेको अल्फा भेरियन्ट, दक्षिण अफ्रिकामा देखिएको बिटा भेरियन्ट, ब्राजिलमा देखापरेको गामा भेरियन्ट र भारतमा डेल्टा भेरियन्ट देखिएका हुन् ।

यी भेरियन्टले मानिसलाई बढी बिरामी बनाउने र खोपको प्रभावकारितामा पनि कमी ल्याइदिन सक्ने हुनाले ‘डब्लुएचओ’ले पनि चिन्ता प्रकट गरेको छ । यी भेरियन्टमध्येमा पनि हालसालैको डेल्टा भेरियन्टले मानिसलाई बढी प्रभाव पारेको देखिएको छ । सार्स–कोभिडको नयाँ प्रजाति डेल्टा भेरियन्ट सबैभन्दा पहिला २०२१ को सुरुवाततिर भारतमा पहिचान गरिएको हो ।

डेल्टाको वैज्ञानिक नाम B.1.617.2 हो । केही महिनाको बीचमा कोरोना प्रजातिको यो भाइरस विश्वका ९८ देशमा फैलिइसकेको छ । जसमध्ये भारत, अस्ट्रेलिया, स्कटल्याण्ड, बेलायत, इजरायल, अमेरिकाजस्ता एक दर्जन देशमा तीव्र गतिमा फैलिएको छ । भारतमा यही भाइरसका कारण गएको अप्रिल र मे महिनामा खतरनाक दोस्रो लहर निम्त्याएको थियो।

नेपालका कोभिड बिरामीहरूमा पनि यो भाइरसको पहिचान भएको छ । कोरोनाको दोस्रो लहरका कारण नेपालमा पनि हजारौँ नागरिकको मृत्यु भएको छ । लकडाउनपछि पनि अपेक्षित रूपमा संक्रमित मानिसहरू घटेनन् । हाल अमेरिकामा कोरोना देखिएका ८३ प्रतिशत मानिसमा यो भाइरस जिम्मेवार छ ।

तथ्यांकहरूले डेल्टा भाइरस अल्फा प्रजातिभन्दा ४० देखि ६० प्रतिशत बढी संक्रामक र सुरुको क्षणमा चीनमा देखिएको भाइरसभन्दा झण्डै दुई गुणा बढी संक्रामक भएको देखाएका छन् । यस्तै, डेल्टा भाइरसका कारण बिरामीको श्वासनलीमा भाइरसका कण बढी देखिएका छन् ।

यसको अर्थ बिरामी मानिसमा भाइरसको लोड पनि अत्यधिक बढी देखिएको छ । चीनमा गरिएको अध्ययनले यो भाइरसले आक्रमण गरेका बिरामीमा अरु प्रजातिका भन्दा भाइरसको लोड झण्डै १ हजार गुणा बढी देखिएको छ ।

के डेल्टा भाइरस बढी खतरनाक छ ?

बेलायतमा गरिएको सर्वेक्षणले डेल्टाका लक्षणहरू केही फरक पनि देखिएका छन् । जसको अर्थ यो एकदमै खतरनाक छ भन्ने होइन । ज्वरो आउनु, टाउको दख्नु, घाँटीमा कठिनाइ हुनु, रुघाखोकी त साधारण लक्षण भैहाले । त्यसबाहेक सुन्ने शक्ति कमजोर हुनु, पेट र आन्द्रामा समस्या हुनु, रगत जम्नेजस्ता लक्षण पनि केही बिरामीहरूमा देखिएका छन् ।

स्कटल्याण्डमा गरिएको सर्वेक्षणमा अरु प्रजातिभन्दा डेल्टा भाइरसका कारण अस्पताल जानुपर्ने बिरामी दुई गुणाले बढेका छन् । यसले यो भाइरस बढी बलियो छ भन्ने हो ।

अमेरिकामै पनि संक्रमित व्यक्ति अस्पतालमै जानुपर्ने प्रतिशत बढेको छ । विशेष गरी खोप कम लगाएका राज्यहरूमा । त्यसैले भर्खरै अमेरिकी सबैभन्दा उच्च संक्रामक रोग विशेषज्ञ डा.एन्थोनी फाउसीले डेल्टा भेरियन्टका कारण खोप नलगाएका मानिसमा कोरोना महामारी तीव्र बनिरहेको भन्दै अमेरिका गलत दिशामा हिँडिरहेको चेतावनी दिएका थिए ।

वास्तवमा डेल्टाले नै बढी मानिसलाई बिरामी पारिरहेको छ वा यो सामान्य ढंगले मात्रै धेरै जसंख्यामा फैलिइरहेको छ भन्ने यकिन हुन बाँकी नै छ । तर, यो भाइरस विश्वका खोप नलगाएका ठाउँहरूमा बढी देखापरेको यथार्थ हो । त्यसैले अमेरिकी सीडीसीका निर्देशकले पनि ‘डेल्टा भाइरस खोप नलगाएका मानिसका लागि भएको महामारी’ भनेर टिप्पणी गरेका छन् ।

डेल्टाविरुद्ध खोप कत्तिको प्रभावकारी छ ?

न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनको निष्कर्षअनुसार मोडेर्ना अथवा बायोटिक–फाइजर खोप डेल्टा भाइरसविरुद्ध प्रभावकारी छ । त्यही निष्कर्षलाई ‘न्याचर’मा प्रकाशित अनुसन्धानको निष्कर्षले पनि थप प्रमाणित गरेको छ। जसमा बायोटिक–फाइजर वा अक्सफोर्ड–एस्ट्राजेनिकका दुवै डोज लगाएका व्यक्ति सुरक्षित रहने उल्लेख छ ।

बेलायतमा गरिएको अनुसन्धानले डेल्टाविरुद्ध एक डोजको मात्रा लगाएका व्यक्तिका लागि खोप ३० दशमलव ७ प्रतिशत र दुवै डोजको मात्रा लगाएका व्यक्तिमा ८८ प्रतिशत प्रभावकारी छ ।

प्रारम्भिक अनुसन्धानमा जोनसन एण्ड जोनसन खोप पनि नयाँ प्रजातिका लागि प्रभावकारी पाइएको छ । भाइरसविरुद्ध हामीले खोप प्रयोग गरेर यसलाई कमजोर वा निस्तेज पार्ने काम गर्छौं । डेल्टा भाइरसले अहिलेका खोपलाई कम प्रभावकारी बनाएको प्रमाण फला परेको छैन ।

केही व्यक्तिलाई खोपको दुवै डोज लगाएको दुई हप्तापछि पनि कोभिडका लक्षण देखा पर्न सक्छन् तर गम्भीर बिरामी बनाउने सम्भावना ज्यादै कम हुने वैज्ञानिकहरूले बताएका छन् । अतः अहिलेसम्म देखापरेका कोरोनाका विभिन्न भेरियन्टलाई निस्तेज पार्ने एक मात्र उपाय खोपको प्रयोग नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *