Categories
समाचार

कर्णाली नदीमा डुङ्गा दुर्घटनामा परी बेपत्ता भएकी २० वर्षीया उर्मिलाको शव भेटियो

आठ दिन अघि कैलालीको मोहन्याल गाउँपालिकाको कर्णाली नदीमा भएको डुङ्गा दुर्घटनामा परी बेपत्ता हुने महिलालाई सोही नदीमा मृत फेला पारिएको छ ।

घटनास्थलवाट दक्षिणतर्फ सोही नदीको बीच भागमा भेटिएको बेवारिसे शवको आज सनाखत गर्दा डुङ्गा दुर्घटनामा परी बेपत्ता हुने मोहन्याल गाउँपालिका—३ की २० वर्षीया उर्मिला सलामी मगरको रहेको खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी तीन जना बेपत्ता भएका थिए । भने, दुई जना घाइते भएका थिए । घाइतेमध्ये धनसराको मृत्यु भएको र उनकै एक महिने छोरा कर्ण सलामीको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पाँच जना भने पौडी खेलेर ज्यान जोगाउन सफल भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार दुर्घटनामा परी मोहन्याल गाउँपालिका–३ कै २० वर्षीया उर्मिला सलामी मगर, उनको १० दिनको छोरा र सोही ठाउँकी २० वर्षीया पार्वती थापा बेपत्ता छन् ।

साउन १७ गते कर्णाली नदीमा काठको डुङ्गा चढेर पारी सुर्खेत जिल्ला जाने क्रममा पल्टिएर डुङ्गा दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते सोही ठाउँकी १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको थियो । त्यसमा सवार पाँच जनाले पौडिएर ज्यान जोगाएका थिए ।

उनीहरुको खोजीकार्य भइरहेको र अवस्था अझै अज्ञात रहेको प्रवक्ता विष्टले बताउनुभयो । सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा डुङ्गा पल्टेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मोहन्याल गाउँपालिकामै कर्णाली नदीमा केही दिन अगाडि जिप खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *