Categories
Uncategorized

इथियोपियामा विमान दुर्घटनामा ज्यान गुमाएकी गोरखाकी एकता अधिकारीको परिवारले क्षतिपुर्ती पाउने

काठमाडौ । इथियोपियामा भएको विमान दुर्घटनामा ज्यान गुमाउने एकता अधिकारीका परिवारले क्षतीपुर्ती पाउने भएका छन् । उनी गोरखाको साबिक मिरकोट गाविस–३ की बासिन्दा थिइन् । २८ वर्षीया अधिकारीका बुवा काजी अधिकारी र आमा पार्वती मिरकोटबाट सरेर गोरखा नगरपालिका–१० छेपेटारमा बस्दै आएका थिए । उनीहरु अहिले काठमाडौंको बालाजुमा बस्दै आएका छन् ।

दुर्घटना भएका बखत अधिकारीका कान्छा काका ध्रुव अधिकारीका अनुसार एकताका दुईजना दिदी अमेरिकामा थिए भने एक जना भाइ बालाजुस्थित घरमा थिए । एकताको मृत्युको खबर पाएपछि अमेरिकामा दुई छोरीका साथमा रहेका आमा र बुवा नेपाल फर्किकएका हुन् ।

एकताले काठमाडौंस्थित सेण्ट मेरिज स्कूलबाट माध्यमिक तह उत्तीर्ण गरेकी थिइन् । एकता बेलायतबाट एमएससी सकेर चार वर्ष अघि नेपाल फर्केकी थिइन् । २०७२ सालको भूकम्पदेखि विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मा आवद्ध भएर नेपालमा काम गरेकी अधिकारी आठ महिना अघि मात्र इथोपियामा काम गर्न पुगेकी थिइन् ।

२०७५ फागुन २६ गते इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको नैरोबी जान लागेको जहाज दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा गोरखाकी एकता अधिकारीसहित १५७ जनाले ज्यान गुमाएका थिए। झन्डै तीन वर्षअघि पूर्वी अफ्रिकी मुलुक इथियोपियामा भएको जहाज दुर्घटनामा ज्यान गुमाएकी गोरखाकी एकता अधिकारीका परिवारसहित अन्य पीडितलाई क्षतिपूर्ति दिन जहाज निर्माता कम्पनी बोइङ तयार भएको छ।अमेरिकी जहाज निर्माता कम्पनी बोइङ सन् २०१९ मा इथियोपियामा दुर्घटनामा परेको आफ्नो ७३७ म्याक्स जहाजका यात्रुका परिवारलाई क्षतिपूर्ति दिन सहमत भएको हो।

अमेरिकाको सिकागोस्थित एक अदालतमा बोइङले १४९ यात्रु र ८ चालक दलका सदस्यको मृत्युको कारण आफ्नो कम्पनीको गल्ती भएको स्वीकार गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। ‘ती दुर्घटनामा आफन्त र प्रियजन गुमाएका सबै परिवारले पूर्ण र न्यायिक क्षतिपूर्ति उपलब्ध पाउने कुरामा बोइङ प्रतिवद्ध छ,’ बोइङले बुधबार जारी गरेको विज्ञप्ति भनिएको छ,‘ बोइङसँगको सम्झौतापछि दुबै पक्षको प्रयास पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउने विषयमा केन्द्रीत हुने बाटो खुलेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *