Categories
Uncategorized

उताबाट श्रीमान्ले ‘भाग, भाग’ भनिरहे…अब यत्ति नै हो जिन्दगी जस्तो लागेर थुचुक्क बसे

विद्यार्थीलाई माटोबाट विभिन्न आकृति बनाउन सिकाइरहेकी शिक्षक मनदेवी गौचनको फोन एक्कासि बज्यो । उताबाट श्रीमान्ले ‘भाग, भाग’ भनिरहे । कहाँ भाग्ने, किन भाग्ने केही मेसो पाइनन् । तलपट्टि चौरमा विद्यार्थी चि,च्याएर भाग्दै गरेको देखिन् । ठूलो गडगडाहट सुनेपछि उनी कक्षा ४ का विद्यार्थीलाई लिएर दौडिन् । भाग्दाभाग्दै एकपल्ट पछाडि फर्किएर हेरिन्, डाँडाबाट विशाल हिमपहिरो विद्यालयतिरै आउँदै थियो ।

मुस्ताङको थासाङ गाउँपालिकास्थित कोवाङभन्दा आधा घण्टाको दूरीमा छ, नाउरीकोट गाउँ । नाउरीकोटको शिरमा ६ हजार ९ सय २० मिटर उचाइको टुकुचे पिक (मानापाथी हिमाल) छ । हिमालमुनि छिर्लुङ लेकबाट आइतबार हिमपहिरो खसेको हो । हिमपहिरो खस्दा कोवाङको जनआदर्श अमरसिंह माविमा दोस्रो कक्षा चल्दै थियो । कृषिको समेत पढाइ हुने यो विद्यालय ११ कक्षाका विद्यार्थी माटो विज्ञान पढ्दै थिए । ११ः४० बजेतिर बेतोडले हावाहुरी चल्नुका साथै पहाड खसेजस्तै आवाज आएपछि हेर्दा स्थानीयले हिमपहिरो झर्दै गरेको देखेका थिए । त्यसपछि उनीहरूले कोवाङतिरै सोझिएको हिमपहिरो देखेपछि विद्यालयका शिक्षकलाई खबर गरे । शिक्षकले सबै विद्यार्थीलाई कक्षाबाट बाहिर निस्किएर भाग्न भने । शिक्षक र विद्यार्थीको रुवावासी र भागदौडले केही क्षण कोलाहल मच्चिएको थियो ।

मनदेवीले आफ्नै टाउकोमाथि हिमपहिरो आइसकेको जस्तो लागेपछि काँडाघारीको आड लाएर थुचुक्क बसेको सुनाइन् । ‘ब’म विस्फोट भएजस्तो एकदमै ठूलो आवाज आएको थियो,’ उनले भनिन्, ‘फिल्मतिर मात्रै त्यस्तो देखेकी थिएँ । अब यत्ति नै हो जिन्दगी जस्तो लाग्यो । आजसम्म मात्रै रहेछ बाँच्ने भनेर थचक्क बसें ।’ एकछिनपछि मुखैभरि माटो लिएर एक विद्यार्थी आइन् । उनको आफ्नै छोरी पनि आमा खोज्दै आइपुगिन् । ‘एकछिन बसेको अर्को सर (वीरेन्द्र लामिछाने) आएर झन् मरेजस्तै गरेर लम्पसार परेर पल्टिनुभयो,’ कामेको स्वरमा उनले भनिन्, ‘माथिल्लो कान्लाबाट तल्लो गह्रामा हामफाल्दा उहाँको खुट्टा भाँ,चिएछ ।’ हिमपहिरो विद्यालयसम्म नआइपुगे पनि माटो मिसिएको पानीको छिटा आइपुगेको उनले बताइन् ।

कोवाङका ६२ वर्षीय अमृत तुलाचनले यत्तिको ठूलो हिमपहिरो अहिलेसम्म देखेका थिएनन् । धौलागिरि आइसफलमा फाट्टफुट्ट हिमपहिरो खसिरहे पनि आइतबारको भने अहिलेसम्मकै ठूलो भएको उनले सुनाए । भने, ‘ज्वालामुखी निस्किएजस्तो थियो । डाँडै पो खस्यो कि जस्तो लाग्यो ।’ कोवाङकै बबी थकालीको घरको छत हिमपहिरोले ल्याएको माटोले हिलैहिलो भएको छ । हिमपहिरो आएको देखेपछि उनी पनि घरबाट भागिन् । ‘डाँडाकाँडा हिउँमा माटो मिसिएर आयो,’ उनले भनिन्, ‘पहिरो पछिपछि, मान्छे अघिअघि भइयो ।’

हिमपहिरोको बाछिटा मात्रै बस्तीसम्म आएकाले मानवीय क्षति हुन भने पाएन । विद्यालयमा भागदौड मच्चिँदा शिक्षक अनु देशार, वीरेन्द्र लामिछाने र विद्यार्थी अनुशा खत्रीको खुट्टा भाँचिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख एवं डीएसपी रामकुमार दानीका अनुसार विद्यार्थी संगम बरुवाल, मिलन पुन, अमृता रोका मगर, सुजिना केसी, अनुस्का विक, स्नेहा किसान, कर्मचारी कोरिसा विक र शिक्षिका सुशीला थापा मगर सामान्य घाइते छन् । उनीहरूको जिल्ला अस्पताल मुस्ताङमा उपचार भइरहेको छ । हिमपहिरोले कोवाङकी रत्नकुमारी शेरचनको घर भत्काएको छ ।

हिमपहिरोमा चरन खर्कमा रहेका ४ सय ४६ वटा चौंरी परेको स्थानीयले बताएका छन् । तीमध्ये कति जीवित छन्, कति मरे भन्ने यकिन हुन सकेको छैन ।

-कान्तिपुर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *