Categories
समाचार

३०० घरहरु पुरिए, नौ जनाको शव भेटियो, ५५ भन्दा बढि अझै बेपत्ता

काठमाडौं । हिजो अपरान्हदेखि परेको अविरल वर्षासँगै भिषण बाढीको चपेटामा परेको सिन्धुपाल्चोकको इन्द्रावती नदिको तटीय क्षेत्रमा ठूलो धनजनको क्षति भएको विवरण प्राप्त भएको छ । घटनास्थलको हवाई अवलोकन गरेर फर्केका स्थानीय पत्रकार रामचन्द्र दुलालका अनुसार हालसम्म नौ जनाको शव भेटिएको छ भने हेलम्बुदेखि दोलालघाटसम्मका ३०० भन्दा बढि घरहरु डुबानमा परेका छन् ।

सबैभन्दा बढि क्षति मेलम्ची बजारमा भएपनि हेलम्बु, चनौटे, तिउल, ग्याल्थुङ, तारामाराङ, मेलम्ची, बाहुनेपाटी, सिपाघाट, दोलालघाट सम्मका नदि किनारामा क्षेत्रका घर, खेत, बारीहरु नष्ट गरेको जनाएको छ ।

आजै विहान घटनास्थलको अवलोकन गर्न पुगेको सो क्षेत्रका निवर्तमान सांसद मोहन बस्नेतलाई स्थानीयबासीले ५५ जना अझै बेपत्ता भएको जानकारी गराएका हुन् । सो क्षेत्रका विभिन्न स्थानमा ९ जनाको शव भेटिएको जानकारी स्थलगत अवलोकन गरेर फर्केर आएको टोलीले बीमा पोष्टलाई जानकारी गराएको छ ।

‘घट्नास्थल निकै भयावह र डरलाग्दो छ, अवस्था निरिक्षण गरेर फर्केको छु, अब सहयोग जुटाएर आजैसाँझसम्म जनताको सेवामा फर्कने तयारी गर्दैछु ।’ निवर्तमान सांसद बस्नेतले भने । मेलम्चीभन्दा माथिको क्षेत्रहरु हेलम्बु, चनौटे, तिउल लगायतका क्षेत्रमा पनि बाढीले ठूलो क्षति पुर्याएको छ । बाढीले हेलम्बुदेखि सिन्धुपाल्चोकको सिपाघाट हुँदै काभ्रेको दोलालघाटसम्म क्षति पुर्याएको पाइएको छ । नदिको माथिल्लो तटीय क्षेत्रमा बढि र तल्लो तटीय क्षेत्रमा कम भएपनि दोलालघाटका सयौं विघा धान खेत बगरमा परिणत भएको स्थलगत अवलोकनको क्रममा फेला परेको छ ।

इन्द्रावती नदिमा आएको बाढीका कारण सो नदिको तटीय क्षेत्रमा आएको बाढीका कारण अर्बौ रुपैयाँको भौतिक क्षति पुगेको छ । यद्यपि ग्रामिण भेगमा बीमाबारे पर्याप्त जनचेतना नहुँदा धेरैले बीमा नै नगरेकोले ठूलो मात्रामा बीमा दावी पर्ने सम्भावना छैन । यद्यपि कैयौं पक्कीघरहरु समेत कामै नलाग्ने गरी पुरिएकोले बीमा दावी पर्ने सम्भावना भने रहेको बीमा कम्पनीहरुल जनाएका छन् । सञ्चार सम्पर्क बिच्छेद भएकोले बीमा दावी परि नसकेको सगरमाथा इन्स्योरेन्सका सिईओ चंकी क्षेत्रीले जानकारी दिए ।

स्थानीयबासीले बैंकबाट ऋण लिएर घर बनाएको हुँदा बैंकबाट ऋण लिँदा कतिपय बैंकले बीमा अनिवार्य गरेका कारण बीमा दावी पर्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *